सलाम डाक्टर साप ! ५ महिनादेखि क्वारेन्टाइनमा बसेर सेवा ‘छोराछोरी नजिकिन खोज्छन्, पन्छाउँछु’

सलाम डाक्टर साप ! ५ महिनादेखि क्वारेन्टाइनमा बसेर सेवा ‘छोराछोरी नजिकिन खोज्छन्, पन्छाउँछु’

हरेक दिन बिरामीको जाँच गरेर साँझ घर पुग्ने डा. सुदर्शन थापाको दैनिकी पाँच महिनादेखि फेरिएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल विभाग प्रमुखसमेत रहेका उनी अचेल परिवारसँग नजिकिन पाउँदैनन् भने खानेबस्ने टुंगो पनि हुँदैन । गत वैशाख १९ गते पहिलो पटक कोरोना शंकास्पद बिरामीको उपचारमा खटिएका थिए । त्यसयता हरेक दिन कोरोना बिरामीको उपचारमा बिताइरहेका छन् ।

कोरोना विशेष अस्पताल निर्माण गरिएपछि उनलाई कोरोना फोकल व्यक्तिको जिम्मेवारी दिइयो । उक्त अस्पतालमा उपचारको नेतृत्व उनैले गर्न थाले । ‘विभागीय प्रमुख भएको तीन महिनामै कोरोना महामारी सुरु भयो,’ उनले भने, ‘सुरुसुरुमा रोटेसन ड्युटी थियो । त्यतिबेला होटलको आइसोलेसनमा बसेर काम गरियो, अहिले घरको एउटा कोठामा अलग्गै बसेर अस्पताल आउजाउ गरिरहेको छु ।’

यसबीचमा कोरोना अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र बिरामी नै परिवार बनेको उनले बताए । लामो अवधिसम्म छोराछोरी र श्रीमतीसित भेटघाट हुँदैन । ‘११ वर्षीया छोरीले कोरोनाबारे बुझेकाले समस्या भएन,’ उनले भने, ‘तर, ५ वर्षीय छोरालाई सम्झाउन समय लाग्यो ।’ आफ्नी आमाले पनि यो पेसाले अप्ठ्यारो बनायो भनेर चिन्ता व्यक्त गरिरहने उनले सुनाए । तर आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्नुपर्छ भनेर मन बुझाइ काम गरिरहेको थापाले बताए । ‘छोराछोरी नजिकिन खोज्छन्,’ उनले भने, ‘उनीहरूलाई पन्छाएर गफ गर्छु ।’

अहिले परिवारभन्दा हरेक पल बिरामीकै बारेमा सोचेर बित्ने गरेको उनले बताए । ‘राति सुतेपछि पनि फोन आउँछ कि, कुनै बिरामीलाई अप्ठ्यारो भयो कि भन्ने सोच मात्रै आउँछ,’ उनले भने, ‘अनि, कोरोना जितेर घर फर्किने बिरामीको खुसी सम्झेर आनन्द लिने गरेको छु ।’ कोरोनाको सुरुआती चरणमा अस्पतालले आईसीयू र ल्याबको व्यवस्थापन गर्न नसक्दा र काठमाडौंबाट पीसीआर रिपोर्ट आउने अवस्थाका बेला मृत्यु भएका बाबुराम थापालाई बचाउन नसक्नुको पीडाले मानसिक रूपमा विक्षिप्त गराउने थापाले सुनाए । थापालाई कोरोना संक्रमण थिएन । तर, उपचार अभावमा कोरोना अस्पतालमा ज्यान गुमेको थियो ।

‘अहिले पनि बिरामीको मृत्यु हुँदा थक्थक् लाग्छ,’ उनले भने, ‘अन्तिम अवस्था भएपछि मात्रै बिरामीलाई अस्पताल ल्याउने चलनले पछिल्लो समय मृत्यु हुनेको संख्या बढेको हो ।’ बेलैमा अस्पताल ल्याइदिने हो भने निको हुने सम्भावना ९९ प्रतिशत रहने थापाले बताए । उक्त अस्पतालमा थापासँगै १७ जना चिकित्सक र अन्य स्वास्थ्यकर्मी गरी एक सय जना दिनहुँ बिरामीको सेवामा खटिएका छन् । अहिलेसम्म नर्मल आइसोलेसनमा १ सय ८० र आईसीयूमा रहेका ८० जनाको उपचार गरिसकेको उनले बताए । अहिलेसम्म कोरोना अस्पतालमा १० जना संक्रमितको मृत्यु भइसकेको छ ।

थापाजस्तै अहोरात्र कोरोनासम्बन्धी सूचना प्रवाहदेखि संक्रमित गर्भवतीको शल्यक्रियामा संलग्न हुन्छन् लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी तथा प्रसूति एवं स्त्री रोग विशेषज्ञ डा. विष्णु गौतम । ‘बिहानै फोनको घन्टी बज्छ,’ उनले भने, ‘कुनै घटना घटेको छ र भनेर सोध्ने सिलसिला कहिले सकिएला भन्दै उपचार गर्दै गरेको छु ।’ संक्रमित गर्भवतीको शल्यक्रिया गर्दा मनमा अर्कै खालको डर बस्ने गरेको उनले सुनाए । तीन लेयरसम्म बढी कपडा र चार वटासम्म पन्जा, चस्मा त्यसमाथि फेस सिल्ड लगाउँदा पसिना चुहिने डर, आँखाले छर्लंग देख्नै समस्या हुने भन्दै गौतमले तीन वटा शल्यक्रिया गरिसकेपछि अभ्यस्त बनेको बताए । उनले पनि परिवारलाई समय दिन पाएका छैनन् । आफू काममा रमाउने भए पनि प्रशासनिक र प्रसूति गृह दुवैतर्फ काम गर्नुपर्दा व्यस्त भएको भन्दै उनले फोनमा बोल्नै झिँझो लाग्ने, छिट्टै थकान महसुस हुने गरेको सुनाए । यही अवस्था अझै केही समय चलिरहे स्वास्थ्यकर्मीलाई साइकोलोजिकल काउन्सेलिङ आवश्यक रहने महसुस भएको गौतमले बताए ।

चैत महिनाबाट शंकास्पद बिरामीलाई उपचार गर्न सुरु गरेको भैरहवास्थित भीम अस्पतालकी नर्स विनिता भट्टराई अहिले एक सातादेखि सेल्फ आइसोलेसनमा छिन् । २४ दिन भयो घर जान पाएकी छैनन् । ‘बीचमा अस्पतालले कोरोना बिरामी नराख्दा घरबाट आउने जाने गर्थें,’ उनले भनिन् । समय तालिकाबिनै निरन्तर काम गरिरहँदा मोनोटोनस पनि भएको उनले बताइन् ।

सामान्य अवस्था छँदा बिरामी र उनीहरूका कुरुवासँग पारिवारिक सम्बन्ध नै कायम गरी खटिने गरेकी विनिताले अहिले बिरामीलाई औषधि दिँदासमेत नजिक हुन नपाउँदा खिन्न महसुस गर्ने गरेको सुनाइन् । कोरोना संक्रमणका बिरामीको उपचार गर्न थालेपछि मृत्यु भएका बिरामीको शव देख्दा आँसु झर्ने र निको भएर फर्किनेले धन्यवाद भन्दा आनन्द लाग्ने उनले सुनाइन् । कोरोना त्रास छँदाछँदै बानी परेपछि पीपीई र पन्जाको साथमा निरन्तर लागिपरेको उनले बताइन् । उनी डायलसिस डिपार्टमेन्टबाट नर्मलतर्फ सिफ्ट भएको ५ महिनापछि नै कोरोनाका संक्रमितसँगको दैनिकी चलिरहेको छ । अहिलेसम्म सुरक्षित रहेकामा खुसी लागेको उनले बताइन् । यो समाचार इकान्तिपुरमा सन्जु पौडेलले लेख्नुभएको छ ।

Leave a Reply